सुनको मूल्य एक लाख नाघ्यो : एक लाख तीन सयमा कारोवार

स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर एक लाख रुपियाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले गर्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

शुक्रबार सुन प्रतितोला छ सय रुपियाँले मूल्य बढेर एक लाख तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्सिर महिना सुरु भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएकाले स्थानीय बजारमा मूल्य बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको फागुन अन्तिम साता सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपियाँ पुगेको थियो । त्यसपछि क्रमिक रूपमा घटेर असोज ३ गते ९१ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा उकालो लागेको सुनको मूल्य एक लाख रुपियाँ नाघेको हो । यसैबीच चाँदीको मूल्यसमेत बढेको छ ।    रासस


ताजा खबर