नेदरल्यान्ड्लाई स्तब्ध बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा

रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४-३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

blog

लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मारेको हो ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अन्तिममा दबाबमा परेकोे थियो । दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । यद्यपी टाइब्रेकरमा पुगेर नेदरल्यान्ड्स अभागी ठहरियो ।

निकै रोमाञ्चक खेलको निर्धारित समयमा अर्जेन्टिनाका लागि नाहुयल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो । नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले फर्काउनुभएको थियो ।

मेलिनाले ३५औं मिनेटमा खाता खोल्नुभएको थियो । मेस्सीले डिबक्स मित्र मिलाईदिएको आकर्षक पासलाई मेलिनाले वान भर्सेस वानमा गोल गर्नुभएको थियो । त्यसपछि मेस्सीले ७३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो ।

नेदरल्यान्डका डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो । पाँचौं पटक विश्वकप खेलिरहनुभएका मेस्सीको विश्वकपमा १०औं गोल हो । उहाँले टाइब्रेकरको समेत जोड्दा ११औं गोल गर्नुभएको छ ।

त्यसपछि ८३औं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेलमा फर्कियो । वेगहस्र्टले स्टिभन बर्घाउसको पासमा गोल गर्दै नेदरल्यान्ड्सको आशा जगाउनुभयो । दोस्रो हाफको इन्जुरी समयको अन्तिममा वेगहस्र्टले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गर्दै खेललाई बरबरीमा ल्याउनुभएको थियो ।

पहिलो हाफमा पकट जमाएको अर्जेन्टिनाले दोस्रो हाफको अन्तिममा लय गुमाएको थियो । निर्धारित समयको अन्तिममा जोसिएको नेदरल्यान्ड्सले लगातार दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो । अतिरिक्त समयमा समेत बराबरीमा सकिएपछि टाइब्रेकमा पुगेर अर्जेन्टिनाले बाजी मारेको हो ।

टाइब्रेकमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लौटारो मार्टिनेजले गोल गर्नुभयो । एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो ।

नेदरल्यान्ड्सका लुक डी जोङ, वोउट वेगहस्र्ट र टुन कुपमाइनर्सले गोल गर्नुभयो । कप्तान भर्जिल भान डाइक र स्टिभन बेर्घुइसको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाउनुभएको थियो ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार रातिनै भएको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसियाले टाइब्रेकरमै ब्राजिललाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । रोयटर्स


ताजा खबर