काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आज बाट

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २०औँ शृङ्खला आज (बिहीबार)बाट सुरु हुँदैछ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने यस महोत्वसमा ३० देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ ।

किम्फको उद्घाटनमा कर्णाली प्रदेशस्थित जाजरकोटको मह सिकारीको कथा समेटिएको चलचित्र ‘बाघको बङ्गारा’को प्रिमियर हुनेछ । यस संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ । दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइनेछ ।

महोत्सवको समापन दिनमा पोलियो उन्मूलनका लागि अस्ट्रेलियन अपाङ्गता भएका व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको चलचित्र ‘फ्लाई फ्रम एभरेस्ट’ प्रदर्शन हुनेछ ।

चलचित्रकर्मी, दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा चलचित्रसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा चलचित्रले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपियाँ पुरस्कारस्वरूप पाउनेछन् ।

नेपालीअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट चलचित्रलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।


ताजा खबर