समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले १ करोड ५ लाख ६० हजार भन्दा बढी मतगणना भएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकोमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेको समानुपातिक मुख्य निर्वाचन अधिकृत दुवाडीले बताउनुभयो ।

मतगणनाको पछिल्लो अद्यावधिक विवरण अनुसार नेकपा (एमाले) अगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

एमालेले २८ लाख ५४ हजार ६४१ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको काँग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा) ले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार ३६७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ मत पाएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ । -रासस


ताजा खबर