ब्राजिल फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा

 विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

blog

स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४-१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

खेलको सुरुवातदेखिनै आक्रामक खेल प्रदर्शन गरेको ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो । ब्राजिलको जितमा भिनिसियस जुनियर, कप्तान नेयमार, रिर्चालिसन र लुकास पाक्वेटाले गोल गरे। दक्षिण कोरियाका पार्क सेउङ हो ले सान्त्वना गोल फर्काएकाहुन ।

ब्राजिलले सातौं मिनेटमै भिनिसियसको गोलमा अग्रता लिएको थियो । घम्साघम्सीबीच डिबक्स भित्र प्राप्त बललाई भिनिसियसले पोस्ट नजिकैबाट गोल गरे ।

नेयमारले १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । कोरियाका रक्षकले डिबक्स भित्र रिचार्लीसनलाई लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।

नेयमारले राष्ट्रिय टोलीका लागि ७६औं गोल हो । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन् ।

अहिले अस्वस्थ पेले सघन उपचार कक्षमा उपचार गराई रहनुभएको छ । ब्राजिलले यस विश्वकपलाई ८२ वर्षीय पेलेको सम्मानको रुपमा समेत लिएको छ ।

यसैगरी एक पछि अर्को आक्रमण बुनेको ब्राजिलका लागि रिचार्लीसनले २९औं मिनेटमा थियागो सिल्भाको पासमा गोल गर्दै थप बलियो बनाए ।

त्यसपछि ३६औं मिनेटमा पाक्वेटाले भिनिसियस जुनिअरको पासमा गोल गर्दै ब्राजिलको सहज जितको आधार बनाए । दोस्रो हाफमा रक्षात्मक र आक्रामक दुवै रणनिति अपनाएको ब्राजिलको थप गोल प्रयासका दक्षिण कोरियाका गोल रक्षक किम सुङयु बाधक बने।

कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । स्युङ हो पाइकको पहिलो प्रहार ब्राजिलका गोलरक्षकले फर्काएको बलमा पार्क सेउङ होको लामो शसक्त प्रहारले सोझै जाली चुमेको थियो ।

दोस्रो हाफको अन्त्यातिर ब्राजिलले नेयमार लगायत रोजाईका खेलाडीलाई स्थानान्तरण गरेको थियो । दक्षिण कोरियाको हारसँगै जारी विश्वकपका एसियाली टोलीको यात्रा सकिएको छ ।

सर्वाधिक पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले अब क्वार्टरफाइनलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ । सोमबार रातिनै भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले अर्को एसियाली टोली जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले स्तब्ध बनाएको थियो ।

नकआउट चरणमा स्थान बनाएको अष्ट्रेलिया अर्जेन्टिनासँग २-१ गोलले पराजित भईसकेको छ । आयोजक कतारसहित एसियाका ६ टोलीको सहभागिता रहेको यस विश्वकपमा कतार, साउदी अरव र इरान समूह चरणबाटै बाहिरिएका थिए । रोयटर्स


ताजा खबर