गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धन दलको आज बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामान गर्न गठबन्धन वर्तमान समयमा पनि आवश्यक रहेको निष्कर्ष निकाल्दै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआए पनि विद्यमान परिस्थितिमा गठबन्धनको आवश्यकता रहेको नेताहरूले बताउनुभएको बैठकपछि सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

अब बन्ने सरकार गठबन्धनकै हुने उल्लेख गर्दै मन्त्री कार्कीले यो गठबन्धनमा अरू दल पनि सहभागी हुने बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री कार्कीले समानुपातिकको परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

यस्तै सत्ता गठबन्धन दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्ति पूर्ण रूपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको छ ।

यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पनि मुलुकमा देखिएको वर्तमान परिस्थितिमा गठबन्धन जरुरी रहेको उल्लेख गरिएको छ ।

Image -रासस


ताजा खबर