इङ्ग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा

अफ्रिकी टोली सेनेगलमाथि सानदार जित निकाल्दै इङ्ग्ल्यान्ड कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इङ्ग्ल्यान्डले सेनेगललाई ३-० गोलले हरायो । एकपक्षीय खेलमा इङ्ग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । ३८अ‍ौं मिनेटमा हेन्डरसनले जुड बेलिंघमको पासमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमो इन्जुरी समयमा केनले काउन्टर प्रहरमा फिल फोडेनको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। केनको यो इङ्ग्ल्यान्डका लागि ५२औं गोल हो ।

उनीअब सर्वाधिक गोलकर्ता वायन रुनीको कीर्तिमानबाट एक गोलले मात्र पछि रहेका छन् । दोस्रो हाफमा पनि एउटै लय समातेको इङ्ग्ल्यान्डले ५७औं मिनेटमा तेस्रो गोल गरेको थियो ।

साकाले डिबक्स भित्र फोडेनको दिएको पासमा विपक्षी रक्षकलाई छल्दै गोल गरेका थिए । सेनेगलको लगातार गोल गर्ने प्रयासमा इङ्ग्ल्यान्डको रक्षापंक्ति बाधक बन्यो ।

क्वार्टरफाइनलमा सन् १९६६ को पिश्वकप विजेता इङ्ग्ल्यान्डले साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । आइतबार रातिनै भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलले हराउँदै इङ्ग्ल्यान्डसँगको भेट पक्का गरेको थियो । रोयटर्स


ताजा खबर