पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

 बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

blog

समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।

पोर्चुगललाई हराएको दक्षिण कोरियाले उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । यस समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० गोलले हराएपनि दक्षिण कोरियासँग गोल अन्तरका आधारमा पछि पर्दै बाहिरियो ।

प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले पूनरागमन जित निकालेको हो । दक्षिण कोरियाको जितमा किम योङ जीओन र ह्वाङ हि चानले गोल गर्नुभयो ।

पोर्चुगलका रिकार्डो होर्टाले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो । पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयो ।

त्यसपछि २७औं मिनेटमा किम योङ जीओनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा ह्वाङ हि चानले सन ह्युङ मिनको पासमा उत्कृष्ट गोल गर्दै दक्षिण कोरियालाई प्रिक्वार्टरफाइनलमा लैजानुभयो ।

यसैगरी अल जानोब स्टेडियममा भएको खेलमा उरुग्वेलाई जिताउन दुवै गोल जिअर्जिअन डे अरासेटाले गर्नुभयो । अरासेटाले २६औं मिनेटमा रिवाउन्ड बलमा पहिलो गोल गर्नुभएको हो ।

लुइस स्वारेजको प्रहार घानाका गोल रक्षकले फर्काएको बललाई अरासेटाले सोझै जाली चुमाउनुभयो । त्यसपछि ३२औं मिनेटमा अरासेटाले स्वारेजको पासमा वान टच दोस्रो गोल गर्नुभयो ।

यसअघि २१औं मिनेटमा घानाका कप्तान आन्द्रे आयुको पेनाल्टीमा चुक्नुभयो । आयुको फितलो प्रहारलाई उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाउनुभयो ।

दोस्रो हाफमा पनि घानाको प्रयासमा रोसेट बाधक बन्नुभएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा उरुग्वे विजयी भयो । समूहमा शीर्षस्थानमा रहेको पोर्चुगलले तीन खेलमा ६ अंक बनायो ।

उपविजेता दक्षिण कोरियाले चार अंक बनायो । समान चार अंक बनाएको उरुग्वे गोलअन्तरका आधारमा तेस्रो स्थानमा रह्यो । तीन अंक जोडेको घाना अन्तिममा रहँदै बाहिरियो । -रोयटर्स


ताजा खबर