क्रिटिकल केयर मेडिसिनको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौंमा क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  हुने भएको छ ।

‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन यही डिसेम्बर २ देखि ४ सम्म (मंसीर १६ देखि १८ सम्म) काठमाडौंमा हुन लागेको हो ।

क्रिटिकल केयर मेडिसिनका चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीमा अन्तर्राष्ट्रिय स्तरमा प्रविधि, अनुभव , ज्ञान र सीप साटासाट गर्न सम्मेलनको आयोजना गरिएको सोसाइटीका महासचिव डा हेमराज पनेरुले सफल नेपाललाई जानकारी दिए ।

उनले भने, ‘अन्य देशमा क्रिटिकल केयर मेडिसिनमा के कस्ता प्रविधिहरु प्रयोग भइरहेको छ, हामी कहाँ छौँ र के के गर्न सकिन्छ भन्ने बुझ्न सम्मेलनले सजिलो बनाउँछ नै । साथै एक अर्काका देशमा भएका ज्ञान सिप साटासाट गर्न र सुधार गर्दै लान सम्मेलनले धेरै नै सघाउनेछ ।’ उनले क्रिटिकल केयरमा विश्वले भोगिरहेको चुनौतीका विषयमा छलफल एवम निकासका लागि पहल प्रयास समेत हुने जानकारी दिए ।

सम्मेलनमा अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, थाइल्याण्ड, श्रीलंका, अष्ट्रेलिया, कोरिया, बेलायत, हङकङ, मालदिभ्स, भारत, बंगलादेश लगायतका ५० जना भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक एवम नर्सहरूको सहभागिता रहनेछ । उनीहरूले विभिन्न विधामा प्रस्तुति दिने छन्।

सम्मेलनकाे पहिलो तीन दिनमा क्रिटिकल केयर मेडिसिन सम्बन्धी विभिन्न विधामा १५० भन्दा बढी पेपर प्रस्तुत हुनेछन्। यसैगरी ५, ६ र ७ तारिखमा छुट्टै पोस्ट कन्फ्रेन्स कार्यशाला गोष्ठी समेत आयोजना गरिने जनाइएको छ । जहाँ सम्मेलनमा उठेका विषय बृहद रुपमा छलफल हुनेछ ।

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले प्रत्येक दुई वर्षमा सम्मेलन गर्दै आएको छ।

#APACCM2022


ताजा खबर