विश्वकपः दक्षिण कोरियाले घानासँग ३-२ गोलले पराजित

फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार खेपेको छ ।

समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३-२ गोलले पराजित भयो ।

घानाको जितमा मोहमद कुडुसले दुई तथा मोहमद सालिसु एक गोल गर्नुभयो । दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काउनुभयो ।

२४औं मिनेटमा सालिसुले दक्षिण कोरियाका रक्षकको गल्तीमा खाता खोल्नुभएको थियो । ३४औं मिनेटमा कुडुसले जोर्डन आयुको लामो पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि दोस्र्रो हाफको सुरुवातमा दक्षिण कोरियाले लगातार दुई गोल फर्कायो । ५८औं मिनेटमा चो ग्युसुङले गोल गर्दै कोरियाका खेलमा फर्काउने प्रयास गर्नुभयो ।

उहाँले तीन मिनेट लगत्यै ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बरबरीमा ल्याउनुभयो । ग्युसुङले दुवै गोल हेडमार्फत गर्नुभएको थियो ।

तर, ६८औं मिनेटमा कुडुसले इनाकी विलियम्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई जिताउनुभयो । जितसँगै दुई खेलबाट तीन अंक बनाएको घाना दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्षस्थानमा रहेको पोर्चुगलको पनि तीन अंक छ । दक्षिण कोरिया र उरुग्वेले एक एक अंक बनाएका छन् । आजै (सोमबार) राति १२:४५ बजे पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । -रोयटर्स


ताजा खबर