भगवान रामचन्द्र र सीताको पूजा गरी विवाह पञ्चमी मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।

May be an image of 1 person, outdoors and castle

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।

विवाह महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।

May be an image of one or more people, outdoors and castle

मधेसमा आज सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताउनुभयो ।

सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो ।

जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।-रासस

 


ताजा खबर