चीनमा कोभिड निषेधाज्ञाको विरोधमा व्यापक प्रदर्शन : राष्ट्रपति सीको राजीनामा माग

चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन्।

उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि प्रदर्शनहरू शुरु भएका हुन् ।

साङ्घाई  शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले पोस्ट गरेका छन्।

त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ।

कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।

पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएका थिए।

प्रत्यक्षदर्शी र भिडिओहरूका अनुसार उक्त प्रदर्शन चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो।

सरकारी निकायहरूले अस्वीकार गरेको भएपनि कैयौँ इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको लकडाउनलाई जिम्मेवार ठहर्‍याएका छन्।

भिडिओमा मानिसहरूले मैनबत्ती बालेको र पीडितहरूप्रति फुल राखेर सम्मान व्यक्त गरेको देख्न सकिन्छ।

कैयौँ विश्वविद्यालयका विद्यार्थीहरू पनि पीडितहरूको सम्झनामा आयोजित उक्त समारोहमा सहभागी थिए।

साङ्घाईको प्रदर्शनमा मानिसहरूले सी जिन्पिङ र कम्युनिस्ट पार्टीविरुद्ध नाराबाजी गरेको सुन्न सकिन्थ्यो।

कतिपयले सेतो ब्यानरसमेत बोकेका थिए।

चीन प्रदर्शन

आइतबार बिहानसम्ममा अवस्था सामान्य भएपनि प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले देखेको छ।

त्यहाँ कैयौँ दर्जन प्रहरी अधिकारी, निजी सुरक्षा गार्ड र सादा पोसाकका प्रहरी चोकहरूमा खटाइएका छन्।

शनिवार राति कैयौँ विश्वविद्यालयहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका फोटो र भिडिओ अनलाइनमा सार्वजनिक भएका छन्।

सबैभन्दा ठूलो प्रदर्शन नानजिङ कम्युनिकेसन युनिभर्सिटीमा भएको थियो।

चीनको शून्य कोभिड नीतिको आलोचना भइरहेको छ

भिडिओहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न अप्ठेरो रहेको छ तर ती मध्ये धेरैले मानिसहरूको मनस्थितिमा उल्लेख्य परिवर्तन आएको सङ्केत दिन्छ।

आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो।


ताजा खबर