जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको हर्षोल्लास

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबिच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा साता व्यापीरुपमा मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोउल्लास पूर्वक मनाइदैंछ ।

जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझै सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिग्हा रंगभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनु भयो ।

स्वयम्बरका लागि जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता जानकीको डोला बाह्र बिग्हा रंगभूमि मैदानमा जाने गरेको र त्यहाँ हजारौ श्रद्धालुहरु विचमा स्वयम्बरका कार्यक्रम हुने महन्थ दासले बताउनु भयो ।

आइतबार वैवाहिक कार्यक्रमका लागि वेदी तयार पार्न जनकपुरधामको गंगा सागरवाट माटो ल्याएर मटकोर कार्यक्रम गरिएको छ । जानकी मन्दिरवाट बाजा गाजाका साथ निस्किएका साधुसन्त र मैथिल महिलाको समूहले गंगासागर पोखरीबाट माटो कोरी ल्याएका छन् ।

उक्त स्थानमा विभिन्न खालका गीतनादहरु पनि प्रस्तुत गरिएको थियो । य अघि तिल्कोत्सव, धनुष यज्ञ, पूmलवारी लीला र नगर दर्शनको कार्यक्रम सम्पन्न भइसकेको छ ।जनकपुरधामको विभिन्न मठमन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ ।

विवाह पञ्चमीमा सहभागी हुन लाखौंको संख्यामा तीर्थालुहरु अहिले जनकपुरधाम आएका छन् । ठाउँ ठाँउमा उनीहरुको बासका लागि टेन्ट पण्डालहरु लगाइएको छ । अन्य वर्ष कोरोना महामारीका कारण प्रभावित हुँदै आएको महोत्सव भने यस वर्ष अलि रौनकता छाएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले बताउनु भयो ।

उहाँले नगर क्षेत्रको सरसफाइ सहित विवाहपञ्चमीमा सहभागी हुन आउने श्रद्धालुहरुका लागि नगरपालिका र स्थानीय युवा क्लवहरुले बासको व्यवस्थापन मिलाएको बताउनु भयो ।

ठाउँ ठाउँमा अस्थायी शौचालय निमार्णका साथै पिउने पानीको व्यवस्थापन गरिएको बताउनु भयो । विवाह पञ्चमीमा आउने भारतीय पर्यटकहरुलाई ध्यानमा राखेर नेपाल रेल्वेले आफ्नो सेवालाई बढाएको छ  ।

नेपाल रेल्वेले दुई पटक सेवा दिँदै आएको विजलपुरा जनकपुर जयनगर रेलसेवा अहिले तिनपटक संचालनमा ल्याइएको छ । स्थानीय प्रशासनले विवाहपञ्चमीलाई मध्यनजर गरी जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । नगर क्षेत्रमा एक हजारभन्दा बढी प्रहरी परिचालन भएको र सादापोसाकमा समेत प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिनु भयो । बिहिबार मधेश प्रदेश सरकारले सार्वजनिक विद्दा समेत दिएको छ ।


ताजा खबर