रोल्पा १ बाट माओवादी केन्द्रका वर्षमान पुन विजयी

 नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी हुनुभएको छ ।
यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उहाँले सोही जिल्लाबाट विजयी हुनुभएको थियो । संसदीय राजनीतिमा यो उहाँको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उहाँले ललितपुर क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।

विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उहाँ मोरङबाट पराजित हुनु भएको थियो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । उहाँले कूल ४१ हजार सात सय १४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राख्नुभयो ।

निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावललेृ दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह््योम्बाले एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

संयोग कस्तो परेको छ भने निर्वाचित हुनुभएका पुन र उहाँका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध हुनुहुन्थ्यो । पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उहाँ मातहतको कमाण्डरको रुपमा हुनुहुन्थ्यो । सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा(एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहनुभयो । यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो ।

सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम राख्नुभएन, फराकिलो मतान्तरले विजयी हुनुभयो । रोल्पामा कूल मतदाता सङ्ख्या एक हलाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ । प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित हुनुभएको छ भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका दीपेन्द्र पुन निर्वाचित हुनुभएको छ ।

निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो । उहाँका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उहाँको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सक्नु भएन । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गर्नुभएका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहनुभएका नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गर्नुभएको छ ।

पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय हुनुभएका उहाँले विसं २०५२ देखि नै जनयुद्धमा सहभागी हुनुभयो । उहाँले तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा हुनुहुन्थ्यो । अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।


ताजा खबर