यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

खेलमा सुरुआत अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो  ।समान चार खेल खेलेको बङ्गलादेशले सात अङ्क जोडेर उपविजेता बन्यो । भुटान अङ्कविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको थियो । रासस

ताजा खबर