आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बाबुराम भट्टराईको घोषणा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले सोमबार सामाजिक सञ्जालमा गोरखाका जनतालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन्। उनले भनेका छन्‚ “आगामी २०७९ मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।”

उनले चुनावमा उम्मेदवारी नदिए पनि राजनीति भने नछाड्ने बताएका छन्। उनले भनेका छन्‚ “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर/नजानेर त्यस्तो सोच्न भन्न सक्छन्।”

भट्टराईले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधि सभा निर्वाचनमा आफूलाई विजयी गराएकामा गोरखाली मतदाताप्रति आभार पनि प्रकट गरेका छन्। साथै‚ आगामी दिनमा पनि निरन्तर गोरखाली जनताको सेवामा रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टराईको वक्तव्यको पूर्ण पाठ

प्रिय गोरखा,
२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तर्हृदयैदेखि आभार व्यक्त गर्दछु।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाॅकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसद्‌मा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महीना गोरखा आउने-जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर/नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।

आसन्न बडादशैं, तिहार, नेपाल संवत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!


ताजा खबर