निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमै रहने

 निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमै रहने भएका छन्। यद्यपि सदरमुकाम नजिक र पायक रहेका कतिपय निर्वाचन क्षेत्रमा भने अधिकृतको कार्यालय सदरमुकाममा नै रहने निर्वाचन आयोगले निर्णय गरेको छ। यसअघिका निर्वाचनमा भने जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहको पायक पर्ने स्थानमा हुने गरी निर्णय गरिएको बताउनुभयो। जसअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा सदरमुकाममै निर्वाचन अधिकृतको कार्यालय रहनेछन्। ३५ वटा जिल्लामा एक मात्र प्रतिनिधि सभा क्षेत्र छन्। दुई निर्वाचन क्षेत्र रहेका २१ जिल्लामा सदरमुकामबाहिर १४ वटा निर्वाचन अधिकृतको कार्यालय रहनेछन्।

तीन निर्वाचन क्षेत्र रहेका सातवटा जिल्लामा भने सदरमुकामबाहिर १२ वटा निर्वाचन अधिकृतको कार्यालय रहनेछन्। चारवटा निर्वाचन क्षेत्र रहेका नौ जिल्लामा भने २४ निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा रहने निर्णय गरिएको छ।

पाँचवटा निर्वाचन क्षेत्र रहेका तीन जिल्लामा १२ निर्वाचन अधिकृतको कार्यालय सदरमुकामबाहिर स्थापना गर्ने निर्णय गरिएको छ। छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा भने सदरमुकामबाहिर तीनवटा निर्वाचन अधिकृतको कार्यालय रहनेछन्। दस निर्वाचन क्षेत्र रहेको काठमाडौँमा भने निर्वाचन क्षेत्र नं. १ बाहेकका सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय सदरमुकामबाहिर नै हुनेछन्।   -रासस


ताजा खबर