प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया शुरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आजबाट शुरु भएको छ ।

नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । निर्वाचन आयोगले आज र भोली समानूपातिक तर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेको छ ।

उम्मेदवारको बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । यस्तै सो बमोजिम राजनितिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरि पेश गर्नका लागि असोज १० गते देखि असोज १६ सम्मको अवधि निर्धारण गरिएको छ ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ ।

राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको आयोगले जनाएको छ । समानूपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले प्रत्यक्षतर्फको उम्मेदवार बन्न नपाउने पनि आयोगले स्पष्ट पारेको छ ।

आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।-रासस


ताजा खबर