चाडपर्व लक्षित सरकारको सुपथ मूल्य पसल

 सरकारले नेपालीको महान चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।

उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महँगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य भएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठको उपलक्षमा थापाथलीस्थित प्रादेशिक कार्यालयमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलको शनिबार उद्घाटन कार्यक्रममा भनाइ राख्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडू । तस्बिर: सिबी अधिकारी/रासस

उद्योग मन्त्री बडूले जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङले दैनिक उपभोग्य वस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्री वितरण गर्ने जानकारी दिनुभयो ।

त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ । मन्त्री बडूले कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “कम्पनीको सेवा दूरदराजका जनताको पहुँचमा पुर्‍याउन र उनीहरूको सेवामा समर्पित हुने खालका कार्यक्रम अघि बढाउनेतर्फ ध्यान दिन म आग्रह गर्दछु ।” उहाँले दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको सङ्कलन र बजारीकरणमा ध्यान दिन पनि आग्रह गर्नुभयो । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उहाँले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले उपभोक्ताले सहजरुपमा खाद्य उपभोग्य वस्तु खरिद गर्नसक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो । सचिव ज्ञवालीले कम्पनीको उपलब्ध भौतिक संरचनाको भरपुर उपयोग गरी दूरदराजका जनतालाई प्रभावकारी सेवा दिन कम्पनीको ध्यानाकर्षण गराउनुभयो ।

व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अत्यावश्यक खाद्यवस्तु एक थलोबाट सहुलियत रुपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तु सेवा बिक्रीलाई सहज तुल्याइने बताउनुभयो ।

४५ स्थानमा सुपथ पसल    
राजधानी काठमाडौँसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकै पटक सञ्चालनमा ल्याइएको छ । काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सुपथ पसलमा मासुजन्य वस्तुमा रु १० तथा खाद्यान्न सामग्री र तेलमा रु सात छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यी खाद्यवस्तुमा छुट पाइन्छ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् । सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा रु सात छुट पाइनेछ । कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो रु १०, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट पाइने कम्पनीले जनाएको छ । नुन किलोमा रु दुई, घिउ किलोमा रु ६० र पनिर तथा चिजमा प्रतिकिलो रु २० छुट पाइनेछ ।

दार्चुलाबाट च्याङ्ग्रा ल्याइने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसी बोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ । कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दसैँलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर बिक्री गरिनेछ । बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्याङ्ग्राको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

कम्पनीले यो वर्ष चार सय च्याङ्ग्रा ल्याउनेछ । निजी व्यापारीले पनि च्याङ्ग्रा बिक्री गर्नेछन् । त्यस्तै खसी बोका दुई हजार खरिद बिक्री गरिनेछ । वीरगञ्ज र तुल्सीपुरबाट खसी बोका ल्याइनेछ । –रासस


ताजा खबर