नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो ।

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकहरुलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ ।

‘नबिल जेन अल्फा’ एपमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले नबिल जेन प्रोडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको जानकारी दिनुभयो ।

सिइओ ढुङ्गानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा  बालबालिकालाई बचत गर्ने बानी बसाउने दाबी गर्नुभयो ।

त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकाहरुलाई पनि बचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताउनुभयो । देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकाहरुलाई समेत जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकाहरुलाई बचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताउनुभयो ।

बालबालिकाहरुले दिइएको कार्य सम्पादनपछि अङ्क कमाउन सक्छन् र त्यही अङ्क लिङ्क गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान छ ।

यो स्किममार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाईका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पुर्‍याउने बैंकले विश्वास लिएको छ ।


ताजा खबर