आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु

दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो ।

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरूको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।

बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गर्नुभएको थियो । विश्व समुदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरूको सामना गरिरहनु परेको उहाँले सो अवसरमा बत्ताउनु भएको थियो ।

आसियानमा आबद्ध देशहरूले नयाँ चुनौती र समस्याहरूलाई समाधानका उपायहरू पहिचान गरी अन्य देशहरूलाई त्यसतर्फ डोर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । त्यसैगरी, कानुनको शासन, विश्वव्यापीकरण, वहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा सञ्चालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उहाँले सुझाव दिनु भएको थियो ।

सम्मेलनको अध्यक्षता गर्नु भएका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

आसियान अन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम पर्दछन् ।  –रासस/सिन्ह्वा


ताजा खबर