महिला साफ च्याम्पियनसिप बङ्गलादेशले जित्यो

दशरथ रङ्गशाला मैदानमा  मंगलवार भएको समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनसिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुवात भएको सो च्याम्पियनसिपमा भारत अपराजित रहँदै आएको थियो ।

बङ्गलादेशको जीतमा मोसमात सिराज जाहनले दुई गोल गरिन भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफको सुरुआतदेखि नै निकै आक्रामक देखिएको बङ्गलादेशले खेलको ११ औँ मिनेटमा पहिलो अग्रता लियो ।

बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा पाकिस्तानमाथि ६–० को जीत निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रोमा माल्दिभ्सलाई ९–० ले हराएको थियो ।

जीतसँगै बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेका माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यसैगरी साफ च्याम्पियनसिप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ । समूह ‘बी’ को उपविजेता भुटानले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलङ्का बाहिरिएको छ । -रासस


ताजा खबर