नेपाली सिर्जना पनि विश्व साहित्यको उत्कृष्ट कोटीका छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा युगौँदेखि जीवित रहँदै आएका लोक साहित्य एवं साहित्यिक निधिलाई सङ्कलन गरेर बाहिर ल्याउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै  राष्ट्रपति भण्डारीले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्न सक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहेर नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने साधकहरूलाई एकै ठाउँमा ल्याउन प्रज्ञा प्रतिष्ठानले गर्दै आएको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणको काम सम्पन्न भइसकेको र चाँडै नै सञ्चालनमा आउने कुराले आफलाई हर्षित बनाएको बताउनुभयो ।

पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली भाषा, साहित्य र संस्कृतिका साथै नेपाली वाङ्मयका क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक समेत रहनुभएका मन्त्री श्रेष्ठले नेपाली वाङ्मयका क्षेत्रमा प्रतिष्ठानले अगाडी सारेका योजनाहरूमा सरकारको सधैँ साथ रहने पनि बताउनुभयो

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नेपाली बृहत् शब्दकोष निर्माण गर्नुका साथै नेपालका तमाम गौरवलाई विश्वसामु चिनाउन तस्वीर सङ्कलन गरिएको अङ्ग्रेजी अनुवादसहितको नेपाल इन इमेज नामक पुस्तक सार्वजनिक गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा पुरस्कारबाट ८ जना साधकहरू र राष्ट्रिय कविता महोत्सव २०७९ बाट पाँच जना कविहरूलाई पुरस्कृत गरिएको थियो ।

नेपाल प्रज्ञा पुरस्कार अन्तर्गत नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार २०७९ बाट प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट, भानु प्रज्ञा अन्तर देशीय नेपाली साहित्य पुरस्कार २०७८– २०७९ बाट नरबहादुर दाहाल, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७९ बाट रामचन्द्र भट्टराई, नेपाल प्रज्ञा संस्कृति पुरस्कार २०७९ बाट प्राध्यापक डा. प्रेमकुमार खत्री दोसल्ला र प्रमाणपत्रसहित सम्मानित हुनुभएको छ ।

त्यस्तै, नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार २०७९ बाट डा. नयनाथ पौडेल, नेपाल प्रज्ञा अनुवाद पुरस्कार २०७८–२०६७९ बाट प्रा. डा. गोविन्दराज भट्टराई, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७९ बाट खेन्पो ङवाङवोसेर लामा र नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७९ बाट शर्मिलाकुमारी चौधरी सम्मानित हुनुभएको हो ।

यसैगरी, राष्ट्रिय कविता महोत्सव २०७९ का विजयी हुनेहरूमा टीका आत्रेय प्रथम, यात्रीप्रसाद पाण्डे द्वितीय र सीता तुम्खेवा, किरण सिवा, कमलराज केसी तृतीय हुनुभएको छ । कार्यक्रममा उहाँहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । -रासस


ताजा खबर