डायलायसिसमा पालो नपाउँदा समस्या

रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित हुनुहुन्थ्यो । दुवै मिर्गौला फेल भएपछि उहाँ नियमित डायलायसिस गर्दै आउनुभएको थियो । केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि आउनुभयो । छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो । सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०७८ साउन १२ गते नाम दर्ता भयो । तर त्यो नाम दर्तामा मात्रै सीमित भयो । उहाँलाई  तुलसीपुर ल्याउन सकिएन । उहाँको लमहीमा उपचारकै क्रममा मृत्यु भयो ।

त्यस्तै रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराउनुभयो । विसं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उहाँले पालो पाउन सक्नुभएको छैन । उहाँले अहिले काठमाडौँमा उपचार गराइरहनुभएको छ । त्यहाँ उहाँले मासिक रु छ हजारको कोठा भाडा लिएर बस्नुभएको छ भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ । अहिलेसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ । खर्च कम गर्न तुलसीपुर आउन खोजेको भए पनि तुलसीपुरमा शय्या  खाली हुनसकेको अवस्था छैन ।

त्यस्तै शान्तिनगर गाउँपालिका दाङ निवासी २२ वर्षीय प्रताप चौधरी पनि तुलसीपुर आउनका लागि २०७८ साउनमै नाम दर्ता गराउनुभयो । उहाँले पनि पालो पाउन सक्नुभएको छैन । अहिले उहाँको लमहीस्थित डायलायसिस सेन्टरमा उपचार भइरहेको छ । पायक पर्ने ठाउँबाट सेवा पाउन धेरै सङ्घर्ष गर्नुपर्छ । सल्यान शारदा नगरपालिका–७  कजेरी निवासी गीता खड्का यसअघि लमहीस्थित डायलायसिस सेन्टरमा हुनुहुन्थ्यो । त्यसपछि घरभन्दा अलि नजिक र सहज हुन्छ भनी तुलसीपुरमा आउन खोज्नुभयो, तर  एक महिनापछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलायसिसमा पालो आयो ।

त्यस्तै सल्यानकै मस्तबहादुर खड्काले पनि पाँच महिनापछि मात्रै प्रादेशिक  अस्पतालमा पालो पाउनुभयो । त्यसभन्दा अघि उहाँ काठमाडौँमा डायलायसिस गर्दै आउनुभएको थियो । आउँदा–जाँदा  तथा  काठमाडौँ बस्दा महँगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने हुँदा उहाँ यहाँ आउन खोज्नुभएको थियो । मिर्गौलाको उपचारकै क्रममा रु १२–१५  लाख खर्च भएकाले अब जति सक्यो  कम खर्च गर्न  घरदेखि नजिकै भए सहज हुने उहाँको भनाइ थियो ।

यस्तै धेरै मिर्गौलापीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन् । राप्ती प्रादेशिक अस्पतालमा पाँचवटा मात्र डायलायसिस मेसिन चालु अवस्थामा छन् । त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनअघि मात्रै आठवटा मेसिन पठाएको छ । तर त्यो जडान हुनसकेको छैन ।

जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताउनुभयो । “अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ”, उहाँले भन्नुभयो, “अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।” अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन् ।

कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको उहाँले बताउनुभयो । अहिले चार स्टाफ नर्समात्रै भएकाले यसमा थप  हुनुपर्ने बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँचवटा बेडमात्रै छन् । जसबाट २५ जनालाई सेवा दिन सकिएको छ । मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डाययलायसिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिले ४० जनासम्म डायलायसिसको प्रतिक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उहाँको भनाइ छ ।

त्यस्तै लमहीमा पनि अहिले करिब ८० जना डायलाइसिसको प्रतिक्षामा छन् । अहिले २४ जनाको डायलायसिस गरिएको छ । ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको  चिकित्सक डा अबदुस बुथ खानले बताउनुभयो । लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलायसिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । -रासस


ताजा खबर