एक बेदाग र दयालु बेलायती महारानीको शानदार महाप्रस्थान

एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन्, उनले ७० वर्षे शासनकाल शानदार ढंगले बिताएर महाप्रस्थान गरेकी छिन् ।

सन् १९५२ बाट सुरु भएको बेलायती महारानी एलिजाबेथको शासनकाल २०औँ मध्यपछि २१औँ शताब्दीका पनि थुप्रै ठूला परिवर्तनको साक्ष्य बनेर सन् २०२२ को सेप्टेम्बर ८ मा आएर टुंगिएको छ । गत वर्षको अक्टोबरदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । त्यसपछि उनले हिँड्डुल गर्न छाडेकी थिइन् ।
फेब्रुअरी १९५२ मा पिताको देहान्त भएपछि एलिजाबेथले २५ वर्षको उमेरमा सात स्वतन्त्र राष्ट्रमण्डल बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र सिलोन (अहिलेको श्रीलंका)को महारानी र राष्ट्रमण्डल प्रमुखका रूपमा श्रीपेच पहिरेकी थिइन् । उनले संवैधानिक राजतन्त्रअन्तर्गतको महारानीका रूपमा उत्तरी आयरल्यान्डको समस्या, अफ्रिकाको औपनिवेशीकरण, युरोपियन संघमा प्रवेश र फिर्तीलगायत थुप्रै आन्तरिक राजनीतिक उथलपुथलको साक्षात्कार गरेकी थिइन् । उनले सन् १९८६ मा चीनको, सन् १९९४ मा रसियाको र सन् २०११ मा गणतन्त्र आयरल्यान्डको ऐतिहासिक भ्रमण गरेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयले आफ्नो शासनकालमा अमेरिकाका आइजनहावरदेखिका १३ पदासीन राष्ट्रपतिसँग राजकीय भेट गरेकी थिइन् ।
उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन् । उनी एक सानदार महारानी थिइन् । उनको छविले बेलायतलाई लोकतन्त्रको आमा बनिरहन सधैँ सघाइरह्यो । विश्वका सबैजसो राष्ट्रप्रमुख र हस्तीले सधैँ उनलाई सम्मान गरिरहे । विश्वका नेताले उनलाई एक दयालु र विवेकी महारानीका रूपमा सम्झिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति ओबामाले महारानी एलिजाबेथको दयादृष्टि, लालित्य र अथक कार्यनीतिद्वारा परिभाषित शासनले ‘विश्वलाई मोहित’ पारेको भनेर प्रशंसा गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायतका मात्रै होइन, विश्वका अधिकांश सञ्चारमाध्यमले उनको देहावसानको समाचारलाई उच्च आदर र महत्वका साथ प्रकाशित गरेका छन् ।
सिंहासनमा लामो समय रहने दोस्रो व्यक्ति
विश्व राजशाहीको इतिहासमा महारानी एलिजाबेथ फ्रान्सका राजा लुइस चौधौँपछि सबैभन्दा लामो समय सिंहासनमा रहने व्यक्ति हुन् । बेलायतको राजशाहीमा एलिजाबेथको शासनअवधि सबैभन्दा लामो रह्यो । गत जुन महिनाबाट उनी थाइल्यान्डका दिवंगत राजा भुमिबोल अदुल्यादेजको शासन अवधिलाई उछिनेर दोस्रो लामो समय सिंहासनमा बस्ने रानी बनेकी थिइन् । थाइल्यान्डका राजा भुमिबोल अदुल्यदेजले ७० वर्ष एक सय २६ दिन राज गरेका थिए । सबैभन्दा लामो समय राज गर्ने फ्रान्सका राजा लुइस चौधौँले ७२ वर्ष एक सय १० दिन राज गरेको इतिहास छ ।
अब विश्वमा एक मात्र महिला राजा
महारानी एलिजबेथको देहान्तपश्चात् अब विश्वमा एक मात्र महिला राजशाही बाँकी रह्यो । डेनमार्कको सिंहासनमा पनि महारानी मार्गरेथ द्वितीय राजाका रूपमा छिन् । महिला राजाका रूपमा महारानी एलिजाबेथले जुन उच्च छवि निर्माण गरेकी थिइन्, त्यतिको उचाइ आधुनिक युगमा कुनै पनि राजशाहीले निर्माण गर्न कठिन छ । अझ महिला राजाका रूपमा उनको छवि सधैँ स्मरणीय रहनेछ । युरोपका राजशाहीबीच नाता–सम्बन्ध पनि रहेको छ । नेदरल्यान्डका राजा विलियम–एलेक्ज्यान्डर पनि एलिजाबेथका नातेदार हुन् भने स्विडेनका राजा कार्ल चौधौँ गुस्ताफ पनि उनका टाढाका नातेदार हुन् । -रोयटर्स

ताजा खबर