चीनको राष्ट्रिय जन कांग्रेस अध्यक्ष ली झान्शु नेपाल आउदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

अध्यक्ष झान्शुले आजदेखि ३० गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । आजैसाँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पर्सि र प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । -रासस/सिन्ह्वा


ताजा खबर