बन्द सूचीसँग आवश्यक कागजात सँगै पेस गर्न आग्रह

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ ।

आयोगले सो प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुनबमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न आयोगले आज दलहरूलाई आग्रह गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताउनुभएको छ ।

उक्त प्रणालीतर्फको बन्द सूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरूलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरूले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।-रासस


ताजा खबर