प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भदौ १९ गते आइतबारदेखि सेनाध्यक्ष पाण्डे नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । सोही अवसरमा आज पाण्डेले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।

यसअघि आजै बिहान पाण्डेले माउण्डेन फ्लाइट गर्नुभएको थियो । त्यसपछि उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभयो । सो भ्रमणमा कलेजको वस्तुस्थितलगायत विविध पक्षबारे उहाँले जानकारी हासिल गर्नुभएको थियो ।

भ्रमणकै क्रममा उहाँले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

यसैगरी, भारतीय सेनाध्यक्ष पाण्डे बुधबार मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जानुहुने तालिका रहेको छ । मुक्तिनाथको दर्शनपछि पाण्डे पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.को भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

तस्बीर : भारतीय दूतावास


ताजा खबर