अन्नपूर्ण पदयात्राका लागि बेलायत र अष्ट्रेलियाबाट बुकिङ

अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पछिल्ला समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उहाँले यहाँ आउने पर्यटक सहज रूपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने जानकारी दिनुभयो । चार दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्नका लागि यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सुविधा सम्पन्न होटेल बनेको र वर्षेनी पूर्वाधार थपिने क्रम बढीरहेको उहाँले जानकारी दिनुभयो । हाल सिनुवाभन्दा माथि नयाँ सात वटा होटेल थपिइसकेका छन् भने अन्य चारवटा बन्ने क्रममा छन् ।

अघिल्लो वर्षसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होेटल चलेकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको पर्यटन व्यवसायी एवम् समाजसेवी ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (क्याप) द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार विगतमा प्रत्येक होटेलमा छ का दरले एक सय ५६ कोठा रहेका थिए ।

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा होटलको क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले चार वर्ष अघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थप लगायत विषयमा अध्ययन गरेको थियो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ । उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन् । स्थानीय सक्रियतामा पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिक स्थलको संरक्षणलाई जोड दिँदै पदमार्ग क्षेत्रको दोभान र हिमालयको बीचमा पूजनीयम बराहको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको सचिव गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण पदमार्ग क्षेत्र र यहाँ आउने पदयात्रीलाई पुजनीम् बराहले रक्षा गर्ने विश्वासका साथ पदयात्रामा जाँदा र आउँदा फूल चढाएर हिँड्ने प्राचीन परम्परा कायमै छ । कठिन भौगोलिक अवस्थितिमा समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा रहेको यहाँको मन्दिर निर्माणका लागि हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । सेप्टेम्बर १५ बाट सुरु हुने यामका लागि अग्रिम बुकिङ फाट्टफुट्ट आउन थालेको टे«किङ एजेन्सी एशोसिएसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिनुभयो ।

आगामी दिनमा पर्यटनमा सकारात्मक आशा पलाए पनि बाटोघाटो तथा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमका पूर्वाधारको अझै कमी रहेको उहाँले बताउनुभयो । बिग्रे भत्केका सडक मार्गका साथै हवाई उडान मार्ग सहज तथा सुलभ बन्न नसक्नु आदि अझै पनि चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ । -रासस


ताजा खबर