साउदी अरेबियाले ग्लोबल एआइ सम्मेलन गर्ने

साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ ।

साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।

‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।

सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ ।

सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, उर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरुका बारेमा पनि छलफल गरिने छ ।

मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

हाल विश्वमा प्रयोगमा आइरहेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा आवश्यक मात्रामा परामर्श र छलफल गरी यसको प्रयोगमा देखा परिरहेका चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि सो सम्मेलनमा छलफल हुने बताइएको छ ।

मानवीय सेवाका क्षेत्रमा बढीभन्दा बढी यो आर्टिफिसियल इन्टेलिजेन्सलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सो सम्मेलनमा यसका विज्ञहरुका बीचमा छलफल हुने सो समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


ताजा खबर