ब्यांकहरूमा निक्षेप झण्डै एक खर्ब घट्यो : कर्जा प्रवाहमा थप सकस

चालू आर्थिक वर्षको पहिलो महीनामै ब्यांकहरूलाई ऋण दिन स्रोतको चर्को दबाब देखिएको छ।

नेपाल ब्यांकर्स संघको तथ्यांक अनुसार, साउनमा ब्यांकहरूको निक्षेप अघिल्लो महीनाका तुलनामा ९८ अर्बले घटेको छ भने कर्जा प्रवाह दुई अर्बले बढेको छ।

यस्तो असन्तुलनका कारण, कैयौं ब्यांकहरूको सीडी रेसियो भनिने (कर्जा–निक्षेप अनुपात) ९० प्रतिशत हाराहारीमा उक्लिएको छ।

देशका २६ मध्ये एक दर्जन वाणिज्य ब्यांकको यस्तो अनुपात ९० प्रतिशतको सीमामा छ। सेन्चुरी, नबिल, नेपाल ब्यांकको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा धेरै छ। वाणिज्य ब्यांकहरूको औसत सीडी रेसियो ८८.०७ प्रतिशत छ।

राष्ट्र ब्यांकले कर्जा–निक्षेप अनुपात ९० प्रतिशतभन्दा तलै रहनुपर्ने व्यवस्था गरेको छ। यस्तो अनुपात बढी हुनुको अर्थ ब्यांक तथा वित्तीय संस्थासँग थप लगानी गर्ने पूँजीको अभाव रहेको भन्ने बुझिन्छ। गत वर्षदेखि नै ब्यांक तथा वित्तीय संस्थाहरू लगानीयोग्य पूँजी अभावसँग जुधिरहेका छन्।

ब्यांकमा निक्षेप नथपिने, तर कर्जाको माग बढिरहेका कारण ब्यांकहरू लगानीयोग्य रकमको चापमा परेका हुन्। पछिल्लो एक महीनामा विभिन्न नियामकीय प्रावधान तथा निक्षेप बाहिरिएका कारण ब्यांकहरूको चाप अझ बढेको हो।

ब्यांकर्स संघका अनुसार, साउन मसान्तमा ब्यांकहरूको कूल निक्षेप ४४ खर्ब ३३ अर्ब पुगेको छ। यो असार मसान्तमा ४५ खर्ब ४१ अर्ब थियो। त्यस्तै, साउन मसान्तमा कुल ऋण प्रवाह ४१ खर्ब ७७ अर्ब पुगेको छ। जुन असार मसान्तमा ४१ अर्ब ७५ अर्ब थियो।

 


ताजा खबर