नेपाली काँग्रेसको निर्वाचन लक्षित चुनावी अभियान घोषणा

नेपाली काँग्रेसले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी चुनावी अभियान घोषणा गरेको छ ।

नेपाली काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी निर्वाचन लक्षित ‘जनताको साथमा काँग्रेस अभियान’ अन्तर्गतका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

अभियान अन्तर्गत काँग्रेसले यही भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरण, समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि दोस्रो चरण र प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि तेस्रो चरणका कार्यक्रमहरू सञ्चालन गर्ने नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रवक्ता डा महतले अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने र उनीहरूका लागि भोलिदेखि अभिमुखीकरणका कार्यक्रमहरू सञ्चालन हुने पनि बताउनुभयो ।

अभियानका क्रममा नागरिकता विधेयक, एमसिसी सम्झौता लगायत विभिन्न विषयमा नेपाली काँग्रेसको भूमिका एवं काँग्रेस नेतृत्वको सरकारले गरेको कामहरूका बारेमा जनतालाई जानकारी गराउने लक्ष्य रहेको प्रवक्ता महतले बताउनुभयो ।

प्रवक्ता महतले नागरिकताका सम्बन्धमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत् गर्न खोजेको व्यवस्था नै अहिलेको विधेयकमा समेटिएको हुनाले यसमा दलहरू विभाजित हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।


ताजा खबर