‘जुन जोगी आएनि कानै चिरेको ‘

~शोभा सिलवाल / पाण्डेय 

जुन जोगी आए पनि कानै चिरेको

देखिँदैन देशले मुहार फेरेको ।

काठमाडौँको मुहार फेर्न बालेनले आँटेका

पुराना नेताले खुट्टा तानेका

बालेनले जस लेला भनी नेता डराए

फोहोरमा बस्‍न हाम्‍लाई बाध्य बनाए।

नाम राजधानी छ, फोहोरको खानी छ

डेङ्गु र हैजाले  ज्यान लानी छ ।

अस्पतालमा रोगीको चाप बढी राको छ

सरकारले कानमा तेल हाली राको छ ्।

बन्चरे डाँडाका जनतालाई आग्रह

बालेनसँग नराख कहिल्यै दुराग्रह ।

प्रकृतिको उपहार स्वच्छ हावापानी हो

राजधानी बासीहरू कता जाने हो ?

राजनीति गर्नेहरू कुराजनीति नगर

खानेपानी फेर्ने श्वास भाछ जहर ।

पहिलेको कान्तिपुर अहिले बन्यो फोहरपुर

जनतालाई सुविधा देऊ महिषासुर ।

राजनीति शक्तिहरू एकजुट भएर

कान्तिपुर नगरीलाई बनाऊ सुन्दर ।

मकैको घुन पिसिएझैँ  जनतालाई नपिस

फोहोरबाट मुक्ति देऊ नहोस् सकस।

जैविक र अजेैविक फोहोर छुट्याऊ जनता

दाउ हेरी फुत्त फोहोर नफालौँ  अब ता

सकेदेखि  फोहोरलाई बदलौँ न मोहरमा

लगानी गरौँ सबले कौसी खेतीमा ।

 


ताजा खबर