अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने निर्णय

नेपाल भारतका सुरक्षा अधिकारीहरूको आज जनकपुरधाममा सम्पन्न भएको बैठकले सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

यसका साथै लागु औषधको कारोबार नियन्त्रण तथा भत्केका सीमा स्तम्भहरूको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

नियमित रुपमा हुँदै आएको बैठकमा नेपाल भारतको सीमा क्षेत्रमा भएका अन्य समस्याहरूको विषयमा पनि छलफल भएको छ । यसका साथै वर्षेनी हुने गरेको बाढीका विषयमा पनि कुरा उठेको छ ।

बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गर्नुभएको थियो ।

बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो ।

भारतीय पक्षबाट मधुबन्नीका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।


ताजा खबर