पर्यटनमन्त्री श्रेष्ठ र काठमाडौँका मेयर साहबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताउनुभयो ।

काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँका स्थानीय सरकारहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमान ढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा “होप अन हप अफ” सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताउनुभयो । महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र संवर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

महानगर प्रमुख साहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौँ आउने जानकारी दिनुहुँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे चासो राख्नुभएको थियो । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताउनुभयो ।

परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उहाँको भनाइ छ । मूर्त–अमूर्त सम्पदा संरक्षण–संवर्द्धन गरी महानगरले सांस्कृतिक सहरको पहिचानलाई जीवन्त राख्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । भेटमा मन्त्री श्रेष्ठले महानगरले गर्ने राम्रा काममा संघीय सरकारको साथ र सहयोग रहने बताउनुभएको थियो । साथै उहाँहरुबीच काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।  -रासस


ताजा खबर