काठमाडौँ-तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना निर्धारित समयमा सम्पन्न गर्ने गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले द्रुतमार्गको लागत बढ्न नदिई गुणस्तर सुनिश्चित हुने गरी निर्धारित समयमा सम्पन्न गर्न ठोस योजना बनाएर कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित योजना प्रमुखलाई निर्देशन दिएको छ ।

आयोजना प्रमुख विकास पोखरेल र रक्षा सचिव किरणराज शर्मासँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले आर्थिक बर्ष २०७९/०८० सम्मको कार्य प्रगतिको आधारमा द्रुतमार्ग निर्माण निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त हुन नसकेको बताउनुभयो ।

बैठकमा सांसदहरुले गुणस्तरीयतामा प्रश्न उठेको, टेण्डर प्रक्रियामा अनियमितता भएको, हालसम्मको भौतिक प्रगति निराशाजनक रहेको बताउनुभयो ।

काठमाडौँ–तराई/मधेश जोड्ने सो द्रुतमार्ग आयोजना आगामी २०८१ मङ्सिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्मको ५ वर्षको अवधिमा १७ प्रतिशत भौतिक प्रगति र १५ प्रतिशत वित्तीय प्रगति मात्र भएको आयोजनाले जनाएको छ ।


ताजा खबर