साफ यु २० च्याम्पियनसिपमा नेपालको दमदार सुरुवात

नेपालले भारतको भुवनेश्वरमा सोमबारबाट सुरु भएको साफ यु २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

भुवनेश्वरको कालिंका रङ्गशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । दीपेशले नेपालका लागि पहिलो गोल गरेका थिए ।

डेनमार्कबाट छनोटमा भाग लिन स्वदेश फर्केका सुगमले ५८ औँ मिनेटमा लागि दोस्रो गोल गरेका थिए । क्रिटिशले ६२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो पारेका थिए । उनी ८३ औँ मिनेटमा क्रितिशको ठाउँमा मैदानमा प्रवेश गरेका थिए । युवा टोलीका गोलकिपर ईश्वर गुरुङले उच्च प्रदर्शन गरेका थिए । उनले विपक्षीका दुई पटक गोलको अवसरलाई रोकेका थिए ।

सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुषको कप्तानीमा नेपाली टोलीले यु २० मा चुनौती प्रस्तुत गरेको छ । यसअघि यु–१८ र यु–१९ को नाममा हुँदै आएको च्याम्पियनसिप यसपालिदेखि यु–२० को नामबाट हुँदैछ ।

यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

नेपालले अर्को खेल बुधबार श्रीलङ्कासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बङ्गलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।


ताजा खबर