एसियाली च्याम्पियनसिपमा सहभागी जुडो टोली फर्कियो

 थाइल्यान्डको बैङ्ककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ ।

साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा दुई तथा जुनियरमा दुई गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाउनुभयो । त्यसपछि उहाँ काजाकिस्तान र ताइपेईका खेलाडीसँग पराजित हुनुभयो । महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुग्नुभएको थियो । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुक्नुभयो । सो भिडन्त जितेको भए निशाको कांस्य पदक पक्का हुने थियो । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि पर्नुभएको थियो ।

जुनियरको पुरुष ६० केजीमुनि मङ्गोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराउनुभयो । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गर्नुभयो । सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसँग पराजय बेहोरे पनि रिपाचेजमा पुनः अवसर पाउनुभएको थियो । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसँग हार्नुभयो । देवकी र निशा दिदीबहिनी हुनुहुन्छ । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम)का उत्पादन हुन् । -रासस


ताजा खबर