कुल कर्जाको १२.२८ प्रतिशत मात्र कृषि क्षेत्रमा

बैङ्क तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा कुल कर्जाको १२.२८ प्रतिशत मात्र कृषि क्षेत्रमा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैङ्कले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न भनेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब १५ करोड कर्जा लगानी गरेका छन् । यस अवधिमा सहुलियतपूर्ण कृषि कर्जा लिने कृषकको सङ्ख्या ६० हजार ६१८ पुगेको छ । उनीहरूले एक खर्ब ३९६ अर्ब ८४ करोड सहुलियत कर्जा लिएका छन् ।

आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेटमा कृषिको रूपान्तरणमार्फत आगामी पाँच वर्षमा कृषिको व्यापार सन्तुलित राख्ने उल्लेख छ । गत आर्थिक वर्षको बजेटले आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयातमा ३० प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको भए त्यस्तो हुन सकेन ।

मौद्रिक नीतिले वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिन सक्ने व्यवस्था गरेको तर उक्त व्यवस्थाबाट साना किसान भने लाभान्वित हुने देखिँदैनन् ।

मौद्रिक नीतिले चालु बजेटमा उल्लेख भएको कृषि कर्जालाई लघुवित्त कोषको स्थापनामार्फत प्रभावकारी बनाउने उल्लेख गरेको छ । कोषमा पाँच खर्ब लगानी गर्न नागरिक, कर्मचारी र सामाजिक सुरक्षा कोषबाट निश्चित रकम लगानी गर्नुपर्ने उल्लेख छ । नीतिले कोषमा जम्मा भएको रकम किसानको घरदैलोमा पुर्‍याइने उल्लेख गरे पनि साना किसानमा उत्साहको सञ्चार भएको देखिन्छ । – रासस


ताजा खबर