राष्ट्रिय गौरवका २४ मध्ये तीन आयोजनाको प्रगति शून्य

विगत दश वर्षदेखि प्राथमिकताकासाथ कार्य हुँदैआएका राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुन सकेका छैनन् । २४ वटा आयोजनामध्ये माथिल्लो तामाकोशी बाहेक अन्य आयोजनाहरु सम्पन्न हुन नसकेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँँ प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले २०६८–६९ मा समृद्ध नेपालको सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो ।

पछि अन्य आयोजना थप गरी २४ वटा आयोजना बनाइएको छ । प्रतिवेदनमा विस्तृत आयोजना तयार नगरी निर्माण कार्य शुरु गर्नु, खरिद कार्य गर्नु पूर्वका कार्यहरु जग्गा प्राप्ति र क्षतिपूर्ति, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृति, सीमांकन, रेखांकनलगायतका कार्य सम्पन्न नगरी निर्माणको खरीद गर्नु, अन्तर निकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन, मूल्याङ्कनलगायतका समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै वृद्धि भएको उल्लेख छ ।

काम भएका पाँच आयोजना 

मेलम्ची खानेपानी आयोजना 

प्रतिवेदनअनुसार माथिल्लो तामाकोशीपछि मेलम्ची खानेपानी आयोजनाको बढी भौतिक तथा वित्तीय प्रगति भएको देखिएको छ । जसको ९९.४७ प्रतिशत प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । आव  २०५५–५६ बाट सुरु भएको आयोजना आव २०७७–७८ मा सक्ने लक्ष्य रहेको थियो ।

दश वर्षदेखि प्राथमिकताका साथ कार्य हुँदैआएका राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुन सकेका छैनन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ९६ प्रतिशत प्रगति भएको देखिएको छ । आव २०७०–७१ बाट सुरु भएको यस आयोजनाको आव २०७८–७९ सम्म सम्पन्न गर्ने लक्ष्य थियो । यस आयोजनाका लागि कुल लागत ३० अर्ब ९१ करोड रुपियाँ अनुमान गरिएकोमा हालसम्म २६ अर्ब ४१ करोड रुपियाँ खर्च भएको देखिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ९२ प्रतिशत प्रगति भएको देखिएको छ । आव २०७०–७१ बाट सुरु भएको यस आयोजना आव २०७९–८० सम्म सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाका लागि कुल लागत २२ अर्ब ६० करोड रुपियाँ अनुमान गरिएकोमा आव २०७७–७८ सम्म १९ अर्ब ४ करोड रुपियाँ खर्च भएको छ ।

लुम्बिनी क्षेत्र विकास कोष 

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ८६ प्रतिशत प्रगति भएको देखिएको छ । आव २०६६–६७ बाट सुरु भएको यस आयोजना आव २०७८–७९ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । यस आयोजनाका लागि कुल लागत ६ अर्ब १० करोड रुपियाँ अनुमान गरिएकोमा आव २०७७–७८ सम्म ६ अर्ब २० करोड खर्च भएको छ ।

पशुपति क्षेत्र विकास कोष

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ८० प्रतिशत काम भएको छ । आव २०५७–५८ बाट सुरु भएको यस आयोजना आव २०७८–७९ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । यस आयोजनाका लागि कुल लागत १ अर्ब २७ करोड अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म ४५ करोड रुपियाँ मात्र खर्च भएको छ ।

कम प्रगतिका पाँच आयोजना 

सुनकोशी मरिन डाइभर्सन अयोजना

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ३.२ प्रतिशत काम भएको छ । आव २०७६–७७ बाट सुरु भएको यस आयोजना आव २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाका लागि कुल लागत ४६ अर्ब १९ करोड रुपियाँ अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म १ अर्ब ४८ करोड मात्र खर्च भएको छ ।

राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण समिति 

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी ४.४४ प्रतिशत भएको छ । आव २०६६–६७ बाट सुरु भएको यस आयोजना आव २०९३–९४ सम्म सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाका लागि कुल लागत २ खर्ब ४९ अर्ब ७० करोड अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म १० अर्ब ८२ करोड रुपियाँ मात्र खर्च भएको छ ।

महाकाली सिंचाइ आयोजना 

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी १२.८ प्रतिशत भएको छ । आव २०६३–६४ बाट सुरु भएको यस आयोजना आव २०८१–८२ सम्म सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाका लागि कुल लागत ३५ अर्ब अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म ४ अर्ब ४८ करोड मात्र खर्च भएको छ ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी १६.१ प्रतिशत काम भएको छ । आव २०६४–६५ बाट सुरु भएको यस आयोजना आव २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । यस आयोजनाका लागि कुल लागत २ खर्ब १३ अर्ब ९५ करोड अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म २९ अर्ब ७ करोड रुपियाँ मात्र खर्च भएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना 

सार्वजनिक महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार यस आयोजनाको भौतिक र वित्तीय गरी २१.५४ प्रतिशत काम भएको छ । आव २०६९–७० बाट सुरु भएको यस आयोजना आव २०८३–८४ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । यस आयोजनाका लागि कुल लागत २ खर्ब ६० अर्ब रुपियाँ अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म ३५ अर्ब ४३ करोड रुपियाँ मात्र खर्च भएको छ ।

शून्य प्रगतिका तीन आयोजना 

प्रतिवेदनअनुसार तीन आयोजनाको भौतिक प्रगति शून्य छ । रेल्वे तथा मेट्रो विकास आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र विद्युत् प्रसारण आयोजनाको प्रगति शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

निजगढ विमानस्थलको प्रगति खुलेन 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ विमानस्थलको भौतिक प्रगति खुलेको छैन । सार्वजनिक प्रतिवेदनअनुसार आव २०७१–७२ बाट सुरु भएको आयोजना २०८५–८६ सम्म सक्ने लक्ष्य लिइएको थियो । यस आयोजनाको कुल लागत एक खर्ब ६५ अर्ब अनुमान गरिएको थियो । आव २०७७–७८ सम्म ८७  करोड रुपियाँ मात्र खर्च भएको छ । तर प्रगति भने खुल्न सकेको छैन । – रासस


ताजा खबर