नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ पारित

प्रतिनिधिसभाको आजको बैठकले बहु प्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ ।

बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनु भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समय सीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समय सीमा तोक्ने बारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ । –रासस

भिडियो सौजन्य : नेपाल टेलिभिजन


ताजा खबर