राष्ट्रसङ्घको महासभामा सहभागिताका लागि गृहकार्य

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा नेपालबाट उच्च स्तरीय सहभागिताका लागि गृहकार्य भइरहेको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घको महासभा विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने मञ्च भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्र मन्त्रालयले तयारी थालेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय महासभा आगामी सेप्टेम्बर १३ मा सुरु हुनेछ ।

प्रवक्ता लम्सालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा पत्रकारको जिज्ञासामा प्रवक्ता लम्सालले दुवै पक्षको अनुकूलता भएपछि मात्रै सो भ्रमणबारे जानकारी गराइने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणका सम्बन्धमा पत्रकारहरूको एक अर्को जिज्ञासामा प्रवक्ता लम्सालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको भारत भ्रमण राजनीतिक दलको निमन्त्रणामा भएको र आफ्नै किसिमले तय भएको जानकारी दिँदै त्यसमा परराष्ट्र मन्त्रालयले सहजीकरणको काम मात्र गरेको बताउनुभयो ।


ताजा खबर