राष्ट्रिय समाचार समिति (रासस) को श्रव्यदृश्य सेवा साउन १ गतेदेखि

राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ ।

सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा सो सेवाबारे जानकारी गराइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालसहित टेलिभिजन पत्रकारिताका विज्ञ र विभिन्न टेलिभिजनका समाचार प्रमुख एवं प्रतिनिधि सहभागी कार्यक्रममा समयको मागसँगै राससको सेवा छिटोछरितो र मल्टिमिडियायुक्त हुन आवश्यक भएको पनि बताउनुभयो ।

मन्त्रालयका सचिव डा अर्यालले नयाँ सेवाको आरम्भसँगै रासस समाचारले फड्को मार्ने विश्वास व्यक्त गर्दै छिटो–छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि जनशक्तिको क्षमता वृद्धि र प्रविधिमा सम्पन्न हुनुपर्ने भएकाले सोका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले माग पक्षको चाहना बुझेर योजनाबद्ध रूपमा काम गर्दा श्रव्यदृश्य सेवा प्रभावकारी हुने बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नयाँ सेवालाई जनताको सेवा हो भन्ने अनुभूत गराइ सकेसम्म उच्च प्रविधिको सेवा दिने सङ्कल्प गरेर त्यसका लागि नेपाल सरकार, विज्ञ र सरोकार पक्षको निरन्तर सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर विद्यमान चुनौती मोलेर राससलाई जनताको सूचनाको संवाहक बनाइने बताउनुभयो । कार्यकारी अध्यक्ष झाले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिनुभयो ।

सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालिबीच हालै सम्झौता भएको हो । रासस केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ । राससका महाप्रबन्धक सिद्धराज राईले राससले सेवालाई विविधीकरण गर्ने क्रममा भिडियो सेवा सञ्चालनको तयारी गरेको र यसमा सेवाग्राहीको सुझाव र सहयोग अपेक्षित रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राससको नयाँ सेवाका लागि शुभकामना दिँदै सेवाग्राहीको सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिँदै राससले सरकारका कुरा र जनताका चाहना दुवैलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।

आमसञ्चारका विज्ञ तपनाथ शुक्लाले राससले यसअघि नै भिडियो सेवा सञ्चालन गर्नुपर्ने भए पनि अब सुरु गर्दा सहरमुखी नभई गाउँ केन्द्रित विषयवस्तु आफ्ना नेटवर्कबाट सङ्कलन गराइ घटना प्रधान र आलेख समाचार दिनुपर्ने सुझाव दिनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राससको भिडियो सेवाका सक्दो आवश्यक सहयोग हुने विश्वास दिलाउँदै सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सहभागी वक्ताहरूले सामाजिक उत्तरदायित्वसहित पत्रकारितामा विद्यमान अवस्थामा देखिएका विकृतिमाथि नियन्त्रण र सन्तुलन कायम गराउन सक्नुपर्ने सुझाव दिँदै जिम्मेवारीसहित नयाँ र बिकाउ सामग्री पस्कन आग्रह गर्नुभएको थियो ।

सुझाव दिनेमा एशोसिएटेट प्रेस (एपी)का विनाज गुरुवाचार्य, फ्रान्सेली समाचार संस्था (एएफपी)का  पावन माथेमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकृत तीर्थराज चापागाईँ, नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेती, टेलिभिजन पत्रकारहरू मनोहरि थापा, महाप्रसाद लामिछाने, जनता टेलिभिजनका टङ्क पन्त, न्यूज–२४ का नवराज चालिसे, कान्तिपुर टेलिभिजनका दशरथ राई, ग्यालेक्सी फोरकेका नवराज पाण्डे, रे टेलिभिजनका रमेश भट्टराईलगायत हुनुहुन्थ्यो ।


ताजा खबर