नेपल र चीनबीच व्यापार मार्ग सञ्चालन गर्ने सहमति

नेपाल–चीन सिमानासम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ ।

बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्त्वलाई जोड दिँदै विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन् ।

कोभिड–१९ को स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न नेपाल–चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन् ।

बैठकमा परराष्ट्र मन्त्रालय अन्तर्गत पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डल र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो ।


ताजा खबर