राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त ग-यो । कर्णालीले दस रजत र १५ कांस्य हासिल ग-यो ।

प्रतियोगितामा चार कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र दुई व्यक्तिगत र टिममा कीर्तिमान रच्नुभयो । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ अप्रिल २३ मा बनाएको ५.४५ मिटरको राष्ट्रिय कीर्तिमानलाई तोड्नुभयो । एक सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । त्यस्तै चार गुणा एक सय मिटर रिले निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसंँग मिलेर ५४.२० सेकेन्डको कीर्तिमान बनाउनुभयो । छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो ।

कुल नगद पुरस्कार राशि नौ लाख पुरस्कार ४५ हजार रुपियाँ रहेको थियो । तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाउनुभएको छ ।

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग-यो । कर्णाली तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ लेहरायो । गण्डकी तेस्रो बन्यो । कबड्डीको छात्रमा सुदूरपश्चिम च्याम्पियन बन्यो । छात्रा कबड्डीमा सुदूरपश्चिम बुधबार नै उपाधि जितिसकेको थियो । मार्सल आर्टस्मा बागमतीकै दबदबा रह्यो । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।


ताजा खबर