सदनमा प्रस्तुत चारवटा विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको आजको बैठकले सदनमा प्रस्तुत चारवटा विधेयक पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, सर्वसम्मतिले पारित गरेको छ ।

यसैगरी बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, बहुमतले पारित गरेको छ ।

बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, माथिको दफावार छलफलमा संसदहरुले हदम्यादका विषयमा ल्याएको सङ्कल्प प्रस्तावको अवमूल्यन गरेको बताउनुभयो ।

बलात्कार मुद्दामा बालिक भएको ३ वर्षसम्म हदम्याद रहने व्यवस्था विधेयकमा राखेर ल्याएकोप्रति असहमति जनाउँदै सांसदहरुले सर्वसम्मति रहेको विषय विधेयकबाट झिकेर ल्याएकोप्रति सम्बन्धित मन्त्रीले माफी माग्नुपर्ने धारणा राख्नुभएको थियो ।

जवाफमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले सङ्कल्प प्रस्तावको विषय वर्तमान विधेयकमा नै समेटेर ल्याउन नभनेको बताउनुभयो ।

उहाँले सङ्कल्प प्रस्तावलाई आगामी संशोधनमा समेट्ने प्रतिबद्धता जनाउँदै समग्र न्याय प्रणालीमा सुधार नगरी हदम्याद मात्रै बढाएर यसमा सुधार नआउने धारणा राख्नुभयो ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाले सन्देश सहित प्रतिनिधिसभामा पठाएका औषधि (तेस्रो संशोधन) विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), २०७९ र रेल्वे विधेयक २०७९ राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सभासमक्ष जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७/०७८ र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८ समेत पेश भएको छ ।

यसअघि विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई कूटनीतिक माध्यमबाट तत्काल पत्र लेख्नुपर्ने बताउनुभयो ।

सांसद श्रेष्ठले विगतमा भएका कमीकमजोरीका कारण नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारको निर्णयलाई अल्झाउन नहुने बताउनुभयो ।

उहाँले गभर्नर महाप्रसाद अधिकारी विवादमा आइसकेपछि त्यसको प्रष्टीकरण समेत नआएकोभन्दै उहाँले पद छाड्नुपर्ने बताउनुभयो ।

सांसद भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लामा गएको पहिरोका कारण नलगाढ जलविद्युत क्षेत्रको बाटोमा क्षति पुगेका कारण आवतजावत र यातायातमा समस्या परेकाले त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आर्थिक सुशासन कायम गर्न नसकिएको भन्दै विगतका सरकारले गरेका कामहरूलाई निरन्तरता नदिँदा धेरै समस्याहरू निम्तिएको धारणा समेत राख्नुभयो ।

सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा गएका नेपालीले पाउने सुविधाका लागि दुई वर्षको मात्र अवधि राखेको र दुर्घटनाबापत पाउने सुविधा पनि बिचौलियाले खाइदिने गरेको बताउनुभयो ।

सांसद बेदुराम भुसालले महालेखापरीक्षकको कार्यालयले औँल्याएको बेरुजुको अङ्कले सुशासनको अवस्था देखाएको भन्दै मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा आ–आफ्नै प्रकारको रहेको स्मरण गराउँदै राष्ट्रियसभालाई उपेक्षा गर्न नहुने बताउनुभयो ।

सांसद भुसालले सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रियसभा र प्रतिनिधिसभाबीच समाचार सम्प्रेषणका विषयमा विभेद गरेको भन्दै यसलाई आफूले गम्भीरतापूर्वक लिएको धारणा राख्नुभयो ।

सांसद खिमलाल देवकोटाले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा समान भएको उल्लेख गर्दै राष्ट्रियसभालाई महत्त्व नदिँदा यसको औचित्य नै समाप्त हुने धारणा राख्नुभयो ।

सांसद विमला राई पौडेलले केही महत्त्वपूर्ण विधेयक संसदमा विचाराधीन रहेको उल्लेख गर्दै प्रतिनिधिसभाले वषौँसम्म अड्काएर राखेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मुलुकको आर्थिक अवस्था बिग्रँदै गएकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

सांसद विमला घिमिरेले सदनमा उठाइएका जनसरोकारका विषयप्रति सरकार गम्भीर नभएको भन्दै मुलुक आर्थिक सङ्कटतर्फ धकेलिरहेको बताउनुभयो ।

सांसद नारायण दत्त मिश्रले किसानका लागि आवश्यकीय वस्तु मलका विषयमा कराउँदा कराउँदै थाकिसकेको भन्दै विलासिताका बस्तु आयातमा मात्रै सरकारको ध्यान गएको धारणा राख्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन २ गते दिउसो १ बजे बस्नेछ ।


ताजा खबर