नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट सुरू

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई आजबाट एकीकृत कारोबार सुरू गरेको छ। दुई बैंकको मर्जपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो।

‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो।

यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ। प्राप्तिपछि बैंक देशकै सबैभन्दा ठूलो वितीय संस्था भएको छ।

बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले कार्यक्रममा बोल्दै भने, ‘नबिल र एनबि बैंक एक-आपसमा प्राप्तिको औचित्यमा छलफल पश्चात समग्र बैंकिङ प्रणालीको आवश्यकताहरूलाई समेत मध्यनजर गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिवृद्धि गर्न कदम चालेका हौं।’

उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए।

यससँगै बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्व टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरे।


ताजा खबर