साउन देखि कुहिने र नकुहिने फोहरको वर्गीकरण अनिवर्य

काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।

फोहरमैला व्यवस्थापनलगायतका साझा समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगरप्रमुखहरुले बताउनुभएको छ ।  आज यहाँ काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा उहाँहरुले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

“घरघरबाट उत्पादन भएको फोहर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहरलाई ग्यासका रूपमा रूपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहरलाई मल बनाउन करिब २०० देखि २५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ”, प्रमुख शाहले प्रस्ताव राख्नुभयो ।

बैठकमा उपत्यकाको एकीकृत र दिगो फोहर व्यवस्थापनका लागि कामपाले अगुवाइ गर्नुपर्ने र त्यसमा सहकार्य गर्न आफूहरु तयार रहेको सहभागी नगरप्रमुखहरुको भनाइ थियो । बैठकमा सहभागीले फोहर व्यवस्थापनको दीगो समाधानका लागि स्रोतमा वर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनुपर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता साझा धारणा राख्नुभएको थियो ।

कर प्रणाली, ट्राफिक व्यवस्थापन, वातावरणीय सुधार, नदी तथा सडक सञ्जालको विकास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पालिकाको नेतृत्व हुनुपर्ने विषयमा पनि बैठकमा जोड दिइएको थियो । कामपाले एक महिनाअघि नै सार्वजनिक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगरे प्रत्येक पटक रु ५०० जरिवाना लिने जनाइसकेको छ ।

बैठकमा नागार्जुन नगरका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरी, बूढानीलकण्ठ नगरका प्रमुख मीठाराम अधिकारी, टोखा नगरका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी हुनुहुन्थ्यो ।

imageरासस


ताजा खबर