विज्ञापनसम्बन्धि आचारसंहिता कार्यान्वयन गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ ।

विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो ।

उहाँले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पार्नु भयो ।

सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । -रासस


ताजा खबर