प्रधानमन्त्रीद्वारा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताउनुभएको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको अवलोकनका क्रममा आज निजगढस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्नेमा कुनै शङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो  ।

आफ्नै नेतृत्वको सरकारका पालामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको थालनी हुने उहाँले बताउनुभयो ।

कम क्षति हुने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामको थालनी हुने भन्नुहुँदै प्रधानमन्त्री देउवाले सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले अहिले दुई लाइनको धावनमार्ग निर्माण हुने गरी काम अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका योजना अन्तरगत निजगढमा नै फास्ट ट्रयाक निर्माण भएको र अन्तर्राष्ट्रिय विमानस्थल पनि सँगै भएको हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताउनुभयो ।

उहाँले कुनै कारणवश: निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसके राज्यलाई अर्बौँको नोक्सानी हुने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपालले सर्वोच्चको पुर्णपाठ सहितको फैसला स्वागतयोग्य रहेको बताउनुहुँदै यस क्षेत्रको नागरिकहरू र खास गरी निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र जतिपुरसिमरा उपमहानगरपालिकाका प्रमुखहरू सक्रिय रुपमा नलागे लुम्बिनी विमानस्थल नै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा अगाडी बढ्न सक्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णले तराई मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, रोजगारी सृजना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको भए पनि यसले मात्र धान्न नसक्ने भएको हुँदा हरेक दृष्टिकोणले सबैभन्दा उत्तम निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुने प्रष्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिनुभएको सङ्कल्पमा आफूहरूले सहमति जनाएको बताउनुभयो ।

सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थल बनाउनमा कुनै प्रकारको रोक नरहेको आशय सहितको फैसलाको पुर्णपाठ सार्वजनिक गरेसँगै पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले आज विमानस्थलको क्षेत्रको नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको थियो ।

सो अवसरमा बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जर्नादन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री लगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निर्वाचित जनप्रतिनिधिहरू, र विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको थियो ।


ताजा खबर